मौलिक संस्कृति जोगाउँदै मगर सांस्कृतिक संघ, खुला कौराहा प्रतियोगिताको उपाधि चन्द्र एकताले उचाले (फोटो फिचर)

images
  • 91
    SHARES
  • पौष २४, २०७९ आइतबार
    मौलिक संस्कृति जोगाउँदै मगर सांस्कृतिक संघ, खुला कौराहा प्रतियोगिताको उपाधि चन्द्र एकताले उचाले (फोटो फिचर)
    images

    323436578_698125898478203_4321615319541016372_n.jpg

    मौलिक संस्कृति संरक्षणको लागि नेपाल मगर सांस्कृतिक संघ चितवनले आयोजना गरेको खुला कौराहा (कानराहा) प्रतियोगितामा चन्द्र एकता मगर समाज भरतपुरले उपाधि उचालेको छ ।

    पहिलोपटक आयोजना गरको प्रतियोगितामा भरतपुर–२ क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजले प्रथम पुरस्कारस्वरूप रू २५ हजार पुरस्कार जितेको हो ।

    324045962_899321991517492_112948394798582861_n.jpg

    भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा भएको प्रतियोगितामा साली–भेना सांस्कृतिक समूह गैँडाकोटले दोस्रो स्थान कब्जा गर्दै नगद १५ हजार रूपैयाँ पुरस्कार जितेको छ भने नेपाल मगर संघ खैरहनीले तृतीय स्थान हासिल गर्दै नगद १० हजार रूपैयाँ पुरस्कार जितेको संघकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । खैंजडीसहित प्रत्यक्ष गायनमा गरिएको प्रतियोगितामा सात समूहले सहभागीता जनाएका थिए ।

    324217810_1234829460437189_7285320396736956823_n.jpg

    नेपाल मगर संघ रत्ननगर नगर समिति, लाफा आमा समूह गैँडाकोट, झेर्नी मगर समाज शरदपुर (ख) र धर्मोदय मगर समाज कृष्णपुर सहभागी समूह हुन् । कलाकारहरूले मौलिक संस्कृतिअनुसार नै कौराहा प्रस्तुत गरेका थिए । ‘चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा मौलिक बाजासहित सहभागीता गराउँदा उपस्थिति कम हुने हो कि भन्ने चिन्ता थियो । तर, सबैले साथ दिँदा सफल भएको अनुभूति गरेकी छु,’ संघकी अध्यक्ष मगरले भनिन्, ‘अब यसलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता छ ।’

    320887178_554553783217570_4216198159649543834_n.jpg

    कार्यक्रममा भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले नेपालमा आदिवासी जनजातिकै कारण संस्कृति संरक्षण भइरहेको बताए । त्यसमा पनि मगर जातिको संस्कृतिले देशकै इज्जत बचाएको उनले बताए । यो कार्यक्रमको लागि वडाबाट ‘जनजाति उत्थान’ कार्यक्रमअन्तर्गत नगद एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसबाहेक प्रथम पुरस्कार मेकबहादुर आलेमगर र तृतीय पुरस्कार नारायणी दोहोरी साँझ तथा नेपाली चुल्होले प्रायोजन गरेका थिए ।

    321602749_1225742678342185_3120346014251767520_n.jpg

    नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले चितवनको आदिवासी जनजाति समुदायमा पनि मौलिक संस्कृति जगेर्ना गर्ने परम्परा बसिसकेको बताए । ‘आजको यो कार्यक्रमले झनै बलियो आधार तय भएको छ,’ उनले भने, ‘अब यसले बिस्तारै ठूलो रूप लिँदै गए मौलिकताले पुस्तान्तरण हुने अवसर पाउनेछ ।’

    323642567_1355749668569894_3801284977940269127_n.jpg

    नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले पनि आदिवासी जनजातिलाई यस्तै संस्कृतिले धनी बनाएकोले यसको संरक्षणमा सरकारी चासो हुनु सकारात्मक भएको बताए ।

    324026186_493872152871166_8929466074070651257_n.jpg

    कार्यक्रमको अन्त्यमा प्रत्यक्ष दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा दोहोरी गायक निश्चल मगर र बबिता मगरले प्रत्यक्ष दोहोरी गाएका थिए भने निर्णायक मण्डलका संयोजकसमेत रहेका कौराहा गायक बलबिक्रम थापामगरले कौराहा, झ्याउरे आदि गीत गाएर उपस्थितलाई नचाएका थिए ।

    322504558_912475423268120_825021677910358309_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend