२४ पुस, काठमाडौं
फ्रान्सेली फुटबल फेडेरेसनले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पसँगको सम्झौता चार वर्षका लागि विस्तार भएको घोषणा गरेसँगै जिनेदिन जिदानको भविष्य अनिश्चित बनेको छ ।
सन् २०२२ विश्वकप फाइनलमा फ्रान्सेली टिमको नेतृत्व गरेका यी प्रशिक्षक सन् २०२६ को विश्वकपसम्म पदमा रहने निश्चित भएको छ । हालै सम्पन्न विश्वकप फाइनलमा फ्रान्स टिम अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।
गएको जुन महिनामा एक फ्रान्सेली अखबारसँगको अन्तर्वार्ताका क्रममा जिदानले राष्ट्रिय टिमको प्रशिक्षक बन्ने इच्छा ब्यक्त गरेका थिए ।
जिदानका विकल्पहरु
सन् २०२२ को विश्वकपपछि ब्राजिल, पोर्चुगल र अमेरिकाले प्रशिक्षक खोजिरहेका छन् । स्पेनिस अखबार एल इक्वीपको दावीअनुसार जिदानले ब्राजिललाई सम्मान गर्छन् तर, उनी अन्य देशको राष्ट्रिय प्रशिक्षक बन्न त्यति रुची राखिरहेका छैनन् । भाषाको समस्या पनि एक प्रमुख कारण हुनसक्छ ।
सन् २०२६ को विश्वकपअघि एक प्रतिभाशाली अमेरिकी टिम पनि यी फ्रान्सेली प्रशिक्षकको विकल्प हुन सक्छ । विश्वकप अमेरिकामै आयोजना हुँदैछ ।
पोर्चुगलले फर्नाण्डो सान्तोषको उत्तराधिकारीका रुपमा बेल्जियमका पूर्व प्रशिक्षक रोवर्टो मार्टिनेजलाई रोजिसकेको बताइन्छ । यद्यपी सर्वजनिक नियुक्ति भनेको भएको छैन ।
युभेन्टस सम्भावित रुपमा जिदानको अर्को विकल्प हुनसक्छ । तर, मासिमिलियानो एलेग्रीले आफ्नो टिमको लय फिर्ता ल्याउने सकारात्मक प्रयास गरिरहेका छन् ।



