चितवन, पुस २४
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।
यो पवित्र कार्यमा स्थानीयबासीलाई सरिक भई स्मार्ट सिटी निर्माणमा सहयोग गर्न पनि प्रमुख दाहालले आग्रह गरिन् । प्रचण्ड मार्गको काम अब केही समयभित्र सकिएसँगै २० किमी दायाँ–बायाँ वृक्षरोपण गरिने उनले जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाकी वातावरण तथा हरियाली प्रर्वद्धन शाखा प्रमुख लक्ष्मी ठगुन्नाले करिब ७५५ वटा विरुवा माघको पहिलो सातासम्म रोपी सकिने जानकारी दिइन् । उनका अनुसार वीरेन्द्र फुल १२ महिना नै हरियो हुने र प्रदूषणमा पनि बाच्न सक्ने हुन्छ । यो कार्यको लागि १६ लाख खर्च हुनेछ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर २५ का वडा अध्यक्ष छविलाल सापकोटा, वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का निवर्तमान अध्यक्ष विजयकुमार भुजेलले मन्तव्य राखेका थिए ।
भरतपुर महानगरपालिकाले अहिले बाईपास रोडको डिभाइडरमा वृक्षरोपण भइरहेको छ भने पुलचोक गोन्द्राङ ६ लेन सडकमा पनि डिभाइडरमा वृक्षरोपण गरिने छ ।



