२५ पुस, पोखरा
गण्डकी प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने र आफू मुख्यमन्त्री हुने दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रको निर्णयप्रति सन्तुष्ट देखिएका छैनन् ।
सत्ता साझेदार दलबीच भएको प्रदेश भागबण्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । माओवादीले सभामुख पाएको छ भने उपसभामुख पनि एमालेकै पोल्टामा परेको छ ।
‘केन्द्रले गण्डकी एमालेलाई प¥यो भनेर त मिडियाबाट मैले थाहा पाएँ । केन्द्रले अझै निर्णय पठाइसकेको छैन,’ चुमानले भने, ‘केन्द्रले निर्णय पठाएकै छैन, सरकारमा कसरी जाने ?’
गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन् । प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम दिन दलहरु दाबी पेश गर्न जाने तयारीमा छन् । तर, माओवादीले भने बागबण्डा सन्तोषजनक नरहेको बताएको छ ।
सत्ता गठबन्धनबाहेक गण्डकीमा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ सांसद छन् ।
१ बजेभित्रै दाबी पेश भयो भने आजै शपथ खुवाउने गरी तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।



