काठमाडौँ, पुस २८
कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।
आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हामफाल्दा उनको मृत्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी शव पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ ।
शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णय गरिसकेको छ । शव नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ।



