काठमाडौँ, पुस ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ, अहिले त म त्यहीँको जनप्रतिनिधि छु । मेरो जिम्मेवारी अझ बढेको छ ।” करिब ४० वर्षअघि प्रधानमन्त्री दाहालले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गराउनुभएको थियो ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उहाँले झण्डै सिङ्गै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताउनुभयो । “असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ । प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु । मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो ।” प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले समर्थन गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । सिङ्गो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।”
पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “भुवन दाईको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयता महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।”
आरुघाटमा रहँदा आफूले श्रेष्ठसँग बिताएका क्षण अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँले श्रेष्ठ र उहाँका परिवारजन सांस्कृतिकरुपले सुसज्जित, सभ्य र इमान्दार रहेको पाएको स्मरण गर्नुभयो ।
“त्यतिबेलाको समय ऊर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानुपूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन् । म शिक्षक भएर गएपछि आठ विद्यार्थी उत्तीर्ण भए”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “२२-२४ वर्षको उमेर निकै महत्वपूर्ण र ऊर्जाशील रहेछ । मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।” रासस



