हवाई दुर्घटना हुन नदिन विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

images
  • 78
    SHARES
  • माघ १, २०७९ आइतबार
    हवाई दुर्घटना हुन नदिन विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन
    images

    काठमाडौं,माघ १

    सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे र नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

     
    ‘आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ’, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।’
    सरकारले पार्थिव शरीर बुझ्न र आ(आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ। घटनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उनले बताए । ‘राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ’, उनले भने‚ ‘राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन्।’

    आज बिहान करिब ११ बजे नेपालको हवाई दुर्घटनाको इतिहासमा अत्यन्त दुःखद घटना भएको उनको भनाइ छ। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend