सम्भवत सभामुखको उम्मेदवार हुन पाउँछु : देवराज घिमिरे

images
  • 79
    SHARES
  • माघ २, २०७९ सोमबार
    सम्भवत सभामुखको उम्मेदवार हुन पाउँछु : देवराज घिमिरे
    images

    २ माघ, काठमाडौं

    नेकपा एमालेका सांसद देवराज घिमिरेले आफू सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संवादका आधारमा समेत आफूले यस्तो सम्भावना देखेको उनको दाबी छ ।

    एमालेबाट सभामुखका लागि उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा पनि दाबेदार छन् ।

    राष्ट्रपति नहुने अवस्थामा पूर्वसभामुख सुवास नेम्वाङ नै पुनः सभामुख हुन तयार हुने कतिपय नेताहरुको बुझाइ रहँदै आएको छ ।

    तर, सांसद घिमिरे एमालेबाट आफू नै सभामुखको उम्मेदवार हुने दाबी गर्छन् । ‘सम्भवत मैले सभामुखको उम्मेदवारी पाउँछु’ घिमिरेले अनलाइनखबरसित भने ।

    उनी आफ्ना लागि दुईटा मात्रै विकल्प रहेको बताउँछन् । ‘मेरो अगाडि दुईटा अप्सन छन् । मन्त्रिमण्डलमा गएर जिम्मेवारी सम्हाल्ने कि सभामुख भएर जिम्मेवारी सम्हाल्ने । पार्टीले जे उचित देख्छ त्यसमा जान म तयार छु ।’

    घिमिरे ४ मंसिरमा सम्पन्न आम चुनावमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमाले प्रदेश–१ इञ्चार्ज रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका हुन् । राष्ट्रिय सभा सदस्य भने उनी २०५६ सालमै थिए ।

    घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन् ।

    २०१३ जेठ १३ गते जन्मिएका घिमिरे २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट देवराज नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए । त्यसयता निरन्तर राजनीतिमा छन् । २०३२ मा कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए । २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भइ नेकपा एमाले बनेपछि २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिए । २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भए ।

    तर, प्रतिनिधिसभा सदस्यको चुनावमा ०७९ मा पहिलो पटक टिकट पाए । पहिलो पटक प्रतिनिधिसभा सदस्य भएका उनले सभामुखमा दाबी गरेका हुन् । तर, आफूमा अनुभवको कमी नरहेको उनको दाबी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend