काठमाडौं
वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन अभिनेता हरिवंश आचार्यले प्रस्ताव गरेका छन् । रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत हरिवंशले फेसबुक पोस्टमा उल्लेख गरेका छन् ।
रुइतले लाखौं दृष्टिविहीनलाई उज्यालो छरेको कार्यको मूल्यांकन गर्दै उनलाई राष्ट्रपति बनाउनुपर्ने हरिवंशको तर्क छ । उनको प्रस्तावमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सहमत जनाएका छन् ।
भारतमा चिकित्साशास्त्र पढेका रुइत आफ्नो पालामा एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार जितेका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेसनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए । २०७५ सालमा उनले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।



