देवघाट तनहुँ:माघ ७ गते
तनहुँको देवघाटमा रहेको महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको परामर्श सभा तथा प्रगति विवरण बिमर्श कार्यक्रम शनिबार विज्ञहरूको बृहत उपस्थितिमा सम्पन्न भएको छ ।

सो परामर्श सभा महेश संस्कृत गुरूकुलको शैक्षिक गतिविधि,आध्यात्मिक गतिविधि,सामाजिक सेवा,वैदिक बाङ्गमय र संस्कृतिको संवर्द्वन र प्रवद्वन गर्ने उद्वेश्यले सञ्चालन गरिएको हो । उक्त सभामा महेश सन्यास आश्रम एवम् अनुसन्धान केन्द्रका प्रमुख संरक्षक १००८ स्वामी मधुसूदनानन्द गिरीको प्रधानसंरक्षण एवम् पावन सान्निध्यमा भएको सो सभा कार्यक्रमका प्रमुख अतिथि गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले देवघाटो पहिचान देवघाटको महिमालाई बचाई राख्नु हामी देवघाटवासीहरूको दायित्व हो भन्दै सदैब गुरूकुललाई संरक्षण र संवर्द्वन गर्दै जाने बताए । उक्त समारोहमा स्वामी महाराजले आश्रम आश्रमबिच प्रतिस्पर्धा गर्नुको सट्टा एकले गरेको राम्रो कार्य अर्को आश्रमले सिको गरेर अघि बढ्न आग्रह गरे ।

उनले देवघाटमा रहेको तिनवटै आश्रमहरू आसमा एकतावद्व भएर अगाडि बढ्न सके मात्रै गुरूकुलको संरक्षणमा सहयोग पुग्ने छ भन्दै आफु सधै सहकार्यमा अघि बढ्ने समेत प्रतिवद्वता गरे । उक्त सभा समारोह कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाटमा रहेका आश्रमहरूले देवघाटधामको गरिमालाई अगाडि बढाएको छ भने । उनले सभामा निमन्त्रणा गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै सभामा संस्कृत भाषा र पढाइले गर्दा आज देवघाट अन्य देशहरूमा पनि परिचित रहेको बचाए । अध्यक्ष थापाले स्थानीय सरकारको तर्फबाट आश्रमहरूको लागि सकेको सहयोग गर्ने समेत बताए ।

सो परामर्श सभा कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने,काठमाडौँ विश्वविद्यालय उपकुलपति प्रा. डा.भोला थापा, पोखरा विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेम अर्याल लगाएतको बिशिस्ट अतिथ्य,देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरूङ लगाएत अन्य विज्ञहरूको उपस्थितिमा बृहत सभा सम्पन्न भएको छ । महेश संस्कृत गुरूकुलका प्रधानप्राचार्य फणीन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम महेश सन्यास आश्रम एवम् अनुसन्धान केन्द्रका अध्यक्ष एवं पीठाधीश १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



