सिन्धुपाल्चोक, माघ ९
चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ । यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ ।
पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हँुदा यहाँका हिमाली क्षेत्रमा हिउँ देख्न मुस्किल परेको छ भने परम्परागत बालीनालीसमेत सङ्कटमा परेका छन् । माथिल्लो हिमाली भुभागमा देखापरेको असरको रुपमा गत वर्षको भयानक मेलम्ची बाढीलाई लिन सकिन्छ । यो दीर्घकालीनरुपमा मानव समुदायलाई खतराको सङ्केत भएको वातावरणविद् प्रभु बुढाथोकीको भनाइ छ ।
विगतमा चार फिटसम्म हिउँ जम्ने स्थानमा अहिले तुसारो मात्र देख्न सकिन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हेलम्बु, पाँचपोखरी क्षेत्रमा नेपालकै गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसमेत रहेकाले यसको संरक्षणको लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ । रासस



