१२ माघ, काठमाडौं
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइँदैछ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ ।
साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरुले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।



