१३ माघ, काठमाडौं
काठमाडौं महानगरपालिकामा नयाँ नगर प्रहरीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले एक वर्षका लागि १६२ जना नगर प्रहरी राख्ने गरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।
सम्झौताअनुसार कम्पनीले मासिक २० हजार ५३२ दिनुपर्छ । भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ । तर न कम्पनीले तलब दिएको छ, न महानगरले पोशाक ।
महानगरले सम्झौताअनुसार पोशाक उपलब्ध नगराएका कारण काम गर्न समेत गाह्रो भएको अर्का एक नगर प्रहरीले बताए । उनी भन्छन्, ‘कहिले खाल्डोमा छिर्नुपर्छ, कहिले व्यापारीसँग लाठिमुंग्री पर्छ । पोशाक नहुँदा काम गर्न गाह्रो छ ।’
महानगर प्रहरीका प्रमुख राजु पाण्डे भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाउने बताउँछन् । ‘हामीले सम्झौता गरेको सेक्युरिटी कम्पनीले बदमासी ग¥यो,’ पाण्डे भन्छन् ‘ड्रेसको पनि धेरै चोटी कुरा भइसक्यो, तर दिएको छैन । यससम्बन्धी महानगरले निर्णय गरेर पठाइसक्यो ।’



