पर्वत, माघ १३
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ ।
दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूरदराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय संवेदनशिल मन्त्रालय भएको बताउँदै उहाँले हरेक वर्ग र समूदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पहँुचको आधारमा विदेशी अस्पतालमा गएर राज्यलाई व्ययभार पार्ने प्रचलन रोक्न प्रयास गर्ने बताउनुभयो । नेपालमै सम्भव हुने उपचार सेवा नेपालकै अस्पतालमा लिनुपर्ने अनिवार्य गरिने बताउँदै सरकारी खर्चबाट विदेशमा उपचार गर्न जाने नीति हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सानातिना रोगको उपचारका लागि सहरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने विश्वाससमेत व्यक्त गर्नुभयो ।
स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रका समस्या समाधान भने सहज नरहेको बताउँदै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशैभर पु¥याउने दाबी गर्नुभयो । उहाँले स्वास्थ्य बीमामा केही समस्या देखिएको चर्चा गर्दै त्यसका लागि कतिपय प्रावधानमा पुनरावलोकन गरेर भए पनि गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो । आगामी दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरिब जनताले स्वास्थ्य बीमामार्फत् नै सेवा लिनसक्ने व्यवस्था गरिने उहाँको भनाइ छ ।
उहाँले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गर्नुभयो । प्राविधिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको रू ३२ लाखको लागतमा निर्माण भएको सूचना तथा सञ्चार प्रविधिमैत्री कक्षाको उद्घाटन गर्दै गिरीले अब गाउँ गाउँमा प्राविधिक शिक्षालाई विस्तार गर्न सरकार सक्रिय रहेकोसमेत बताउनुभयो ।
यस्ता खालका कक्षाले विपन्न तथा दलित समुदायका विद्यार्थीले सर्वसुलधरुपमा ज्ञान र सीप हासिल गर्न सक्ने उहाँको धारणा थियो । गत बुधबार गृह जिल्ला आउनुभएका मन्त्री गिरी गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा स्वास्थ्य संस्था निरीक्षणमा सक्रिय रहनुभएको छ । रासस



