काठमाडौँ, माघ १३
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिनुभयो । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।
“एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौँ”, उहाँले भन्नुभयो । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताउनुभयो ।
उहाँले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।



