बेलहिया, माघ २१
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन्।
भैरहवामा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक छलफल कार्यक्रममा उनले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरूरी रहेको बताए। उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे।
‘भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पुर्याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा कृषि उत्पादनमा टेवा मिलेको छ,’ उनले भने।
मन्त्री पौडेलले बाँकेको कोहलपुर, दाङ उपत्यका तथा बुटवलको भैरहवामा गरी लुम्बिनीमा तीनवटा आधुनिक र व्यवस्थित सहरसहितको महानगर बनाउने तयारीमा सरकार रहेको जानकारी दिए।
लुम्बिनी प्रदेश निजी क्षेत्रका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पौडेलले यो क्षेत्र उद्योगी र व्यवसायीका लागि उर्वर थलोका रुपमा विकास भइरहेको बताए। रासस



