काठमाडौँ
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाँझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे ।
सर्वोच्च अदालतको फैसलापछि रास्वपालाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो ।’
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे ।



