कांग्रेसले राष्ट्रपतिको लोभ गर्न मिल्दैनः बिजुक्छे
134
SHARES
माघ २३, २०७९ सोमबार
काठमाडौं,माघ २३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन्।
प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरू केही पनि नहुने उनको भनाइ थियो। रफ्त सञ्चार क्लबको १३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताए।
‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि रु साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू छैन। पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो। र, कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि। त्योभन्दा तलमाथि जाने गर्नु हुँदैन। जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन,’ उनले भने, ‘राजनीतिक पार्टीहरुको अहिलेको जुन गठबन्धन छ। त्यो पनि प्रजातान्त्रिक गठबन्धन होइन। चुनाव भन्दा अगाडि नै गठबन्धन बनाउन नहुने हो। गर्ने हो भने घोषणा पत्रको आधारमा गठबन्धन गर्नुपर्ने हो। प्रचण्डजीको नेतृत्व छ भने उहाँको घोषणा पत्रअनुसार त सबै पार्टीहरु जानेवाला छैन।’