३ फागुन, काठमाडौं
उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
मंगलबार मन्त्रालयमा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंले बताए । उनका अनुसार भेटका क्रममा ‘स्टेट अफ द कमला रिभर बेसिन’ योजनाबारे पनि छलफल भएको थियो ।
जल स्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमन वेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझदारी भएको थियो ।
नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री लिङ्देनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले ५० हजार बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन र अन्य समस्यामा सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।



