काठमाडौं, फागुन ३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए। घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा अधिकारीहरूले ब्रिफिङ गरेका थिए।
छलफलका क्रममा उनीहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए।



