४ फागुन, काठमाडौं
काठमाडौं महानगरपालिकाले चिकित्सा शिक्षा अध्ययनदेखि पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर ८ विषयमा छात्रवृत्ति दिनका लागि कार्यविधि बनाएको छ ।
महानगरको छात्रवृत्ति कार्यविधि अनुसार एमबीबीएस कार्यक्रम, इन्जिनियरिङ, वातावरण विज्ञान, शिक्षा, कानुन, व्यवस्थापन, भाषा/साहित्य/समाजशास्त्र र पत्रकारिताको विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने छ ।
छात्रवृत्ति सिफारिस गर्न महानगरपालिकामा एक छात्रवृत्ति समिति रहनेछ । सामाजिक समितिका संयोजक हुनेगरी ४ जना महानगरका कर्मचारीहरुको समिति गठन हुने उल्लेख छ ।
महानगरपलिकाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गरेका छात्र/छात्राले स्वयम्सेवक वा इन्टर्नको रूपमा महानगरपालिकामा सेवा गर्न चाहेमा सेवा गर्ने उपयुक्त प्रबन्ध गरिने समेत कार्यविधिमा उल्लेख छ । छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने छात्र/छात्राले वार्षिक रूपमा आफूले प्राप्त गरेको शैक्षिक प्रगति प्रतिवेदन महानगरपालिकामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।



