५ फागुन, धनगढी
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धनको सहयात्रा काचो धागोमा अडिएको नभएकाले पाँच वर्षसम्म चल्ने दाबी गरेका हुन् ।
नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै बाहिर आएका हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।
पौडेलले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति नै कार्यान्वयन हुने उनको भनाइ थियो । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यकता परेको भनिरहेको विषयलाई अन्यथा लिन नहुने बताएका मन्त्री पौडेलले सबै दल मिल्नुपर्छ भन्नु राम्रो कुरा भएको बताए ।



