महाशिवरात्रि : पशुपति दर्शन गर्नेको भिड, १० बजेसम्म डेढ लाखले गरे दर्शन

images
  • 99
    SHARES
  • फाल्गुण ६, २०७९ शनिबार
    महाशिवरात्रि : पशुपति दर्शन गर्नेको भिड, १० बजेसम्म डेढ लाखले गरे दर्शन
    images

    काठमाण्डाै 

    आज महाशिवरात्रि पर्व, देशभर भगवान श्री महादेवको पूजा आराधनासहित मनाइँदैछ।

    आज महादेवको पूजा आराधनाका लागि काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।

    पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भिड लागेकाे छ । आज बिहानैदेखि भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

    फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

    आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भिड लागेकाे छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रुपमा अघि बढिरहेको बताउनु भयो । उहाँले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको बताउनु भयो । त्यस्तै एक दर्शनार्थीले पशपतिनाथको दर्शन गर्न सहज भएको बताउनु भयो ।

    त्यस्तै अर्का एक दर्शनार्थीले चारैतिरको बाटोको व्यवस्था भए पनि व्यवस्थापन सहज नदेखिएको बताउनु भयो । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्लाे वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको बताउनु भयो ।

    महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएका थिए ।

     

    अन्तिम अपडेट: फागुन ६, २०७९

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend