६ फागुन, गलकोट
सामान्यतया छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तीपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ ।
लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा १३औं पटकसम्म औषधि खुवाउँदासमेत हात्तीपाइले निवारण हुन सकेको छैन । रोग निवारणका गर्न बागलुङमा पुन १४औं पटक अभियान थालिएको हो । यस पटकको अभियान भने अन्तिम हुनसक्ने तथ्याङ्कले देखाएको छ ।
शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तीपाइलेको जिवाणु भेटिएकाले यो पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तीपाइलेको जिवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक हात्तीपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ ।
जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यसपटक सात सय जनामा गरिएको नमुना परीक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४औँ पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए । सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ ।



