एकल जीवन बिताइरहेकी जयन्ती खत्रीले ३५ वर्षको उमेरमा पुनःविवाह गरेकी छन् । शनिबार दैलेख घर भएका नन्द विष्टसँग उनले पुनःविवाह गरेकी हुन् ।
पुनः विवाह समारोहमा सामेल घर र माइती पक्षका सबैले नयाँ जीवनका लागि जयन्तीलाई शुभकामना दिए । आमाबुवाले कन्यादान गरेर जयन्तीलाई बिदाइ गरे । स्वर्गीय पूर्वपतिका आफन्त पनि विवाहमा सरिक भएर बधाई दिए । कुनै चलचित्रजस्तो लाग्ने जयन्तीको कथा भने निकै कठोर छ । २०६१ सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन नेपाली सेनामा कार्यरत उनका पति दोहोरो भिडन्तमा मारिएका थिए । त्यो अभावलाई उनले कहिल्यै भुल्न सकिनन् । तर, जीवन जिउनका लागि केही सीप सिक्ने निर्णय गरिन् । आफूजस्तै महिला भेटेपछि उनलाई आफ्नो पीडाभन्दा अर्काको पीडाले बढी दुख्न थाल्यो । २०६२ सालमा एकल महिलाको समूहमा संगठित भइन् । द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी निवर्तमान अध्यक्ष जयन्ती खत्रीले एकल महिला संघको नेतृत्व गर्दै धेरै एकल महिलाको सहारा बनेकी थिइन् ।
सामाजिक अभियानमा जोडिंदै उनी अहिले नेपालगन्ज उपमहानगर–९ को महिला वडा सदस्य पनि छन् । एकल महिलाको भावना अनि समस्यालाई राम्रोसँग बुझ्न मात्र होइन, महसुस गर्न पनि विभिन्न जिम्मेवारीले सिकाएको उनले बताइन् । शोकलाई शक्तिमा बदल्दै जीवन जिउन सकिन्छ भन्ने उदाहरण द्वन्द्वको मारमा परेका महिलाको सहारा बनेर उनले देखाइएकी छन् । अरूको दुःख र भावना अनुभूत गर्दा आफ्ना चाहना र भावना भुल्दै गएको उनले बताइन् । ‘मैले पूरै जीवन एक्ल भएर बाँचें । अहिले एउटा सहारा मात्र होइन, मन मिल्ने मान्छे भेटेपछि विवाह गर्न राजी भएँ,’ बेहुली बनेर मण्डपमा बसेकी जयन्तीले भनिन् । आफ्नो पुनःविवाह कुनै परिवर्तन गर्न वा कसैलाई देखाउनका लागि नभई आफ्नो खुसी रोज्ने अधिकारको प्रयोग मात्र गरेको उनले बताइन् ।



