८ फागुन, बुटवल
लघुवित्त संस्थाबाट कर्जा लिएर चर्को ब्याजदरले पीडित भएकाहरुको आन्दोलनमा सत्तारुढ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले ऐक्यवद्धता जनाएको छ ।
प्रदेश समन्वय समिति लुम्बिनीको बैठकले लघुवित्त पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाई समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो ।
विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिलासुस्ती, विकृती विसंगती विरुद्ध वाईसीएल, विद्यार्थी, पत्रकार संगठन र जनसमुदायसँग सहकार्य गर्दै वैधानिक रुपमा प्रतिवाद गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।
यस्तै प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरुबाट जनता पीडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेकाले सम्वन्धित निकायलाई नियमन र व्यवस्थापन गर्न माओवादी केन्द्रले माग गरेको छ ।
कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाका उखु किसानहरुले प्राप्त गर्नुपर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको गुनासो आएकाले भुक्तानी गर्न पार्टीले चिनी मिलहरुसँग माग पनि गरेको छ । यस्तै बढ्दो महँगी नियन्त्रण गर्न, मल, बिउ यथासमयमा उपलब्ध गराउन पहल गर्ने निर्णय पनि भएको अध्यक्ष बरालले बताए ।



