९ फागुन, काठमाडौं
सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदका लागि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो ।
पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।
यी मुलुकमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि सरकारले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने भएको छ । विभागले अब उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र दुबई स्थित नेपाली दूतावासमा समेत अनुरोध गरेको छ ।



