देवघाट, साउन १८
देवघाट गाउँपालिका वडा नम्बर ५ स्तरीय खेलकुद समितिको अध्यक्षमा खेम बहादुर राना (टीका) चयन भएका छन् । आज भएको सो अधिवेशनमा रानाको अध्यक्षमा ११ सदस्यीय समिति चयन भएको हो । जसमा अध्यक्ष पदमा खेम बहादुर राना, उपाध्यक्ष पदमा सन्तोष गुरूङ,सचिव पदमा प्रजन थापा,सदस्य पदमा अर्जुन परियार,हर्क बहादुर थापा,राम थापा मगर,शिव गुरूङ लगाएत ११ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएका छन् ।

सो अधिवेशनमा देवघाट वडा नम्बर ५ अध्यक्ष पूर्व बहादुर कुँवरले राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको बताउदैँ देवघाटलाई खेलकुद क्षेत्रबाट अगाडि बढाउने बताए । देवघाटमा धेरै संभावना बोकेका राम्रा खेलाडीहरू रहेको बताउदै पालिकासँग समन्वय गरेर अगाडि बढाउने बताए। देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरूङले देवघाटलाई खेलकुदको क्षेत्रबाट पनि चिनाउन सकिन्छ तर स्थानिय सरकारले त्यसलाई अलि ध्यान नदिएको बताए ।

पालिकाले बजेट छुट्याइए तापनि खेलाडीलाई पुर्याउनु पर्ने ठाउँमा पुर्याउन नसकिएको गुनासो गरे । सो अधिवेशनमा देवघाट युवा तथा खेलकुद समिति वडा नम्बर ५का पुर्व अध्यक्ष अमर बहादुर फेवालीले देवघाटलाई खेलकुदको क्षेत्रबाट चिनाउनु पर्छ भन्दै खेलकुद क्षेत्रलाई गाउँपालिकाले हरेक वडालाई बराबर तरिकाले हेर्नु पर्ने बताएका थिए ।साथै खेलाडीहरू लगनशील र अनुशासित भएर अगाडि बढ्न समेत अनुरोध गरे । अधिवेशनमा देवघाट वडा ५ सदस्य बुद्वि बहादुर पाण्डे,कमला गुरूङ,सरस्वती परियार,याम बहादुर मगर लगाएत वडा ५ का खेलाडीहरू सहभागी रहेका थिए ।



