काठमाण्डौ, २१ जेठ ।
नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा गयराति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेल ओमानसँग खेलेको हो । यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको २३ वर्ष मुनिको टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो भने श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।
नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतसँग खेल्ने छ भने जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।



