वीरगन्ज (पर्सा), फागुन ८-
वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू भएको जनाइएको छ ।
यसैबीच, पर्साको स्थानीय प्रशासनले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रसारण नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गर्नुभएको छ । रासस



