भक्तपुर, वैशाख १४-
कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएर आजेखि परीक्षा सुरु हुन लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।



