बङ्गलादेशलाई हराउँदै अफगानिस्तान पहिलाे पटक टी–२० विश्वकपकाे सेमिफाइलनमा

images
  • 227
    SHARES
  • आषाढ १२, २०८१ मंगलबार
    बङ्गलादेशलाई हराउँदै अफगानिस्तान पहिलाे पटक टी–२० विश्वकपकाे सेमिफाइलनमा
    images

    काठमाण्डौ 

    ऐतिहासिक जीतसहित अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए ।

    यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए । आजकाे खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन् । राशिदले न्युजिल्यान्डका टिम साउदीलाई पछि पार्दै ९२ खेलमा १ सय ५२ विकेट लिएका छन् । साउदीले १ सय १७ खेलमा याे उपलब्धि हासिल गरेका थिए । साउदीले अहिलेसम्म १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् ।

    यस्तै राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ४ विकेट हल लिने खेलाडी पनि बनेका छन् । उनले आजकाे खेलमा सहित अहिलेसम्म ९ पटक ४ विकेट हल लिएका छन् । यस्तै बङ्गलादेशका शाकिब अल हसनले ८ र युगान्डाका हेनरी सेसेन्याेन्दाेले ७ पटक ४ विकेट हल लिएका छन् ।

    यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएकाे थियाे । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै रशिद खानले १० बलमा नट आउट १९ रन बनाए । बङ्गलादेशका रिशद हाेसेनले ३ विकेट लिए । अफगानिस्तानकाे पारीपछि पानी परेपछि अफगानिस्तानले डीएलएसमा १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पाएकाे थियाे ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend