तनहुँ ।
देवघाट गाउँपालिकाको वडा नं.५ ले आर्थिक वर्ष २०८०/८१ को बजेटमा भएका कार्यप्रगति सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा वडा नं.५ ले पाएको एक करोड ३० लाख रूपैयाँ बजेटमा सबैभन्दा धेरै खर्च पूर्वाधार निर्माणमा भएको छ। वडा अध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार पूर्वाधार निर्माणमा मात्रै ४८ लाख रूपैयाँ खर्च भएको छ। पूर्वाधार निर्माणमा बाटो, ढल, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण भएका छन्। शिक्षा तथा खानेपानीतर्फ पनि १३/१३ लाख रूपैयाँ खर्च भएको छ। सात लाख रूपैयाँ बजेटमा क्वादी खानेपानी आयोजनाको लागि दुई वटा ट्याङ्की निर्माण भएका छन्।
यस्तै ६ लाख रूपैयाँ बजेटमा देवघाट वेणी संगम स्नानस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ। पाँच लाख रूपैयाँ बराबरको बजेटमा भने रातामाटे उकालो ढलान, चापागाईँ मन्दिर ओलारो ढलान, वशिष्ठ मार्ग ढलान, दासढुङ्गाको पुलचोकबाट कालीमाटी हुँदै दिलबहादुर थापाको मूलबाटो र ठाडाको घरबाट भर्जन खोलामा नालीसहितको बाटो निर्माण, वसन्तपुर र देवघाट टोलको अधुरो नाला सम्पन्नलगायतका काम भएका छन्। मठमन्दिर निर्माण तथा आश्रम निर्माण तथा व्यवस्थापनको लागि दश लाख रूपैयाँ खर्च भएको छ। कृषि र पशुतर्फ ९ लाख, बाटो मर्मत तथा सरसफाइसम्बन्धी शीर्षकमा आठ लाख, स्वास्थ्यतर्फ छ लाख, सार्वजनिक जग्गा व्यवस्थापनतर्फ पाँच लाख, सिंचाइतर्फ चार लाख, भू–क्षय नियन्त्रण तथा रोकथामतर्फ सात लाख र महिला, बालबालिका तथा दलित शीर्षकमा पाँच लाख रूपैयाँ खर्च भएको वडाअध्यक्ष कुँवरले जानकारी दिए।
त्यसबाहेक विविधतर्फ दुई लाख रूपैयाँ रकम खर्च भएको उनले बताए। पालिकामा भएको सीमित बजेटबाट जनताको चाहनाअनुसार काम हुन नसके पनि बजेटले भ्याएसम्मको काम भएको उनले दाबी गरे। ‘हाम्रो पालिका राजस्व सङ्कलनमा पनि कमजोर छ, आर्थिक स्रोत जुटाउने ठाउँ पनि पर्याप्त छैन,’ उनले भने, ‘तैपनि यहाँको विकासमा हामी प्रयासरत छौँ।’ वडाले पाएको एक करोड ३० लाख रूपैयाँभन्दा बाहेक पनि दुई लाख ५१ हजार रूपैयाँ बजेटमा ठिमुरा पक्की पुल हुँदै क्षेत्री टोल हुँदै झोलुङ्गे पुल जाने बाटोमा ग्याविङ जाली निर्माण गरिएको वडाअध्यक्ष कुँवरले जानकारी दिए। यस्तै तीन लाख रूपैयाँ बजेटमार्फत् वडा कार्यालयमा पार्किङ व्यवस्थापनको काम भएको उनको भनाइ छ। ‘यी काम पछि पालिकाकै बजेटमा सम्पन्न भएको हो,’ उनले भने, ‘यसबाहेक अन्य साना कामहरू पनि भएका छन्।’ देवघाटको भूगोलका कारण पनि सानातिना बजेटमा काम सम्पन्न हुने अवस्था नरहेको उनले बताए।



