गुणस्तरीय शिक्षामा बालकुमारी कलेजको फड्को

images
  • 205
    SHARES
  • श्रावण ११, २०८१ शुक्रबार
    गुणस्तरीय शिक्षामा बालकुमारी कलेजको फड्को
    images

    भरतपुर 

    बालकुमारी कलेज नारायणगढले पछिल्लो समय गुणस्तरीय शिक्षामा फड्को मार्दै गइरहेको छ । यहाँ पढेका विद्यार्थीहरु कलेजमात्रै नभएर चितवन जिल्ला उत्कृष्टसम्म भएका छन् । बालकुमारीमा पढेका केही विद्यार्थी त्रिभुवन विश्वविद्यालयसम्म टप गरेका छन् ।

    बालकुमारी कलेज नारायणगढले गत एक वर्षमा विभिन्न सङ्कायमा उत्कृष्ट भएका १६ जना विद्यार्थीलाई बिहीबार कलेज परिसरमा सम्मान गरेको छ । कलेजका प्रिन्सिपल जगदीश्वर खनालले बालकुमारी कलेजबाट त्रिभुवन विश्वविद्यालय र जिल्ला टपर हुने विद्यार्थीसहित १६ जनालाई सम्मान गरिएको बताए । कार्यक्रममा प्रिन्सिपल खनालले भने, ‘कलेजको गौरव र गरिमा कायम राख्दै उत्कृष्ट भएका १६ जना विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दछौँ ।’

    कलेजका भाइस प्रिन्सिपल अनन्त ढुङ्गानाले उत्कृष्ट हुने विद्यार्थीहरुमा बिएचएमबाट तीन, बिबिएबाट चार, बिआइएमबाट तीन, बिआइसिटिईबाट चार, बिएस्सी (माइक्रो बायोलोजी)बाट एक र बिएस्सी (इन्भायरोमेन्ट साइन्स)बाट एक गरी १६ जनालाई सम्मान गरिएको बताए । बालकुमारीबाट बिएस्सी (माइक्रो बायोलोजी)को तेस्रो वर्षमा त्रिभुवन विश्वविद्यालय टप गरेका बुलबुल श्रेष्ठलाई पनि सम्मान गरिएको उनले बताए ।

    यस्तै, बिबिएमा चितवन पहिलो भएकी रचना कँडेललाई पनि सम्मान गरिएको थियो । यसरी कलेज टप गरेर सम्मानित हुनेहरुमा विद्यादेवी खनाल (बिबिए), निखिल उप्रेती (बिबिए), विनिशा श्रेष्ठ (बिबिए), सचिन ढकाल (बिआइएम), सुजाता खरेल (बिआइएम), एलिस खड्का क्षेत्री (बिआइएम), गुराँस दाहाल (बिएचएम), समित थापा (बिएचएम), अन्सुल गिरी (बिएचएम) रहेका छन् ।

    यस्तै, बिआइसिटिईतर्फ उत्कृष्ट भएका सोनी पोखरेल, मोनिक गुरूङ, अजय महतो र रितेश गुरूङ पनि सम्मानित भएका छन् । यस्तै, बिएस्सी (इन्भायरोमेन्ट साइन्स)तर्फ उत्कृष्ट भएकी दीपा भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

    बालकुमारी कलेजमा विभिन्न सङ्कायबाट बर्सेनि १५ जनासम्म उत्कृष्ट भएर सम्मानित भइरहेका कलेजका प्रिन्सिपल जगदीश्वर खनालले जानकारी दिए । उनका अनुसार कलेजमा बिबिए, बिएचएम, बिआइएम, बिएस्सी, बिआइसिटिईलगायत ९ वटा सङ्कायको पठनपाठन भइरहेको छ ।

    पिन्सिपल खनालले बालकुमारी कलेजले बर्सेनि फड्को मारिरहेको बताए । उनले बर्सेनि बिएचएमतर्फ बालकुमारीले उत्कृष्ट नतिजा ल्याइरहेको भन्दै बिएचएममा एक ब्याचमा ८४ जना विद्यार्थी बालकुमारीबाट निस्किने बताए । उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि चितवनलगायत यसआसपासका दर्जन बढी जिल्लाहरुबाट बालकुमारी कलेजमा विद्यार्थीहरु आइरहेका छन् ।’ बिएचएमका लागि बालकुमारी कलेजमा पाँचतारे होटलमा हुनेबराबरको ल्याब रहेको प्रिन्सिपल खनालले बताए ।

    बिएचएम प्रोग्राम इन्चार्ज प्रकाश पाण्डेले बिएचएमको भर्ना प्रक्रिया सुरू भएको बताए । उनका अनुसार ११ कक्षा पास भएर १२ कक्षाको नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुले बिएचएमको भर्नाका लागि सिम्याट फर्म भर्न पाउने छन् । बालकुमारीले बिएचएमको आठौँ ब्याच उतारिसकेको छ ।

    सम्मान कार्यक्रममा प्राध्यापक संघका सभापति शारदा खनाल, कर्मचारी परिवारका अध्यक्ष ठाकुरप्रसाद आचार्य, संस्थापक प्रिन्सिपल चिरञ्जीवी श्रेष्ठलगायतले बालकुमारी कलेजले गुणस्तरीय र रोजगारमूलक शिक्षा दिइरहेको बताए । बालकुमारी कलेजमा हाल झन्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend