साफ महिला च्याम्पियनसिप आजबाट

images
  • 164
    SHARES
  • कार्तिक १, २०८१ बिहीबार
    साफ महिला च्याम्पियनसिप आजबाट
    images

    ललितपुर, कात्तिक १

    साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण आजबाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्।

    समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ।

    समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै साफ महिला च्याम्पियनसीप आयोजना गरिएको थियो।

    सन् २०१९ मा विराटनगरमा र सन् २०२२ मा काठमाडौंमा प्रतियोगिता भएका थिए। प्रतियोगितामा भारत, नेपाल र बंगलादेश गरी यी तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ।

    सातौँ संस्करणसम्म आइपुग्दा भारतलले पहिलोदेखि ५ औँ सम्म लगातार उपाधि जितेको थियो भने पछिल्लो संस्करण बंगलादेशले जितेको थियो। भारतले चार पटक नेपाललाई र एक पटक बंगलादेशलाई फाइनलमा हराएको थियो। यस्तै बंगलादेशले भने नेपाललाई हराएर उपाधि जितेको थियो। दक्षिण एसियामा सर्वाधिक सफल टिम भारत देखिएको छ भने नेपाललाई अभागी टिमका रुपमा हेरिएको छ।

    ५ पटक फाइनलमा पुगेर पनि नेपालले उपाधि जित्न सकेको छैन। सन् २०१० को पहिलो संस्करण, २०१२ को दोस्रो , २०१४ को तेस्रो , २०१९ को ५ औँ र २०२२ को छैटौँ संस्करणमा फाइनलसम्म पुगेको नेपाल सन् २०१६ को चौथो संस्करणमा सेमिफाइलमै रोकिएको थियो।

    यसपाली समूह बि मा श्रीलंका, माल्दिभ्स र भुटानसँगै रहेको नेपालले सहज प्रतिद्वन्दी पाएकाले सेमिफाइनलसम्मको यात्रा सहज हुने अनुमान गरिएको छ। संभवत् सेमिफाइनलमा बंगलादेश या भारत नै प्रतिस्पर्धी पाउने आँकलन गरिएको छ। पछिल्लो पटक २०२२ मा काठमाडौंमा भएको साफमा भारत समूह चरणमा बंगलादेशसँग र सेमिफाइनलमा नेपालसँग हारेको थियो।

    नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ प्रतियोगिताको तयारी थोरै समय भए पनि आफूहरुले सक्दो राम्रो नतिजा पस्किनेमा विश्वस्त छन् । ‘२ साताको तयारी हाम्रा लागि कम नै भयो, महिला लिगले गर्दा टिम सेटमा तयारी धेरै गर्न पाएनौँ’, प्रशिक्षक तामाङले भने, ‘विगतका गल्तिलाई आत्मसाथ गर्दै हामी च्याम्पियनसिपका लागि तयार छौं।’

    सन् २०२२ को संस्करणमा नेपाली टोलीमा सहायक प्रशिक्षक रहेका तामाङले त्यत्तिबेला डिफेन्सको कमजोरीले हार्न पुगेर बंगलादेशलाई उपाधि सुम्पिएको बताए। नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यसपटक अनुभवी खेलाडी सहितको सन्तुलित टिम रहेको बताइन्। ‘हामी सबैले कडा मिहिनेत गरेका छौं, हामी च्याम्पियन बन्नकै लागि खेल्ने हो’, उनले भनिन्, ‘उपाधिको खडेरी टार्दै ट्रफी घरमै राख्ने प्रयास हामीहरूको छ।’

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend