देवघाटधाम गन्डकी परिक्रमा महोत्सव के हो ?महत्व के छ

images
  • 219
    SHARES
  • कार्तिक १३, २०८२ बुधबार
    देवघाटधाम गन्डकी परिक्रमा महोत्सव के हो ?महत्व के छ
    images

    आगामी कार्तिक १८ गते मंगलबार देवघाटमा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव २०८२ हुने भएको छ । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न देवघाटधाम गन्डकी परिक्रमा महोत्सव २०८२ हुने भएको हो ।

    मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकी नदीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्न तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा कार्तिक १८ गते कार्तिक शुक्ल–बैकुण्ठ चतुर्दशीको दिन बिहान ७ः३० बजे उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सव हुने भएको छ ।

    देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने महोत्सवका अगुवा तथा महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा सो महोत्सव आयोजना हुनेछ ।

    महोत्सवको नाम दिईएपनि उक्त कार्यक्रममा तनहुँ, चितवन र नवलपुरको देवघाटक्षेत्रमा रहेका धार्मिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको परिक्रमा गरि आरधाना गर्ने मुख्य कार्यक्रम रहेको छ । देवघाटको तनहुँ तर्फको बेणी संगमबाट सुरु हुने उक्त कार्यक्रम २५ किलोमिटरको यात्रा खालीखुट्टा पैदलै पुरा गरि पुनः तनहुँको देवघाट स्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई परिक्रमा यात्रा समापन हुने छ ।

    उक्त परिक्रमा यात्रा देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

    यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

    यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ ।
    उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

    नेपाल सन्त समाजका महासचिव एवं नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डाक्टर गुरुप्रसाद सुवेदीले भने ‘नझुक्किनुहोला यो नदीको पानी होइन, देवताले पनि रहर गरिने अमृत हो अमृत । यहाँका शिला ढुंगा होइनन्, देवता हुन् । पवित्रतम भूमि देवघाटधामको दिव्यभावका साथ परिक्रमा गर्ने भए आइहाल्नुहोस् ।’ सुवेदीले भनेका छन्–‘कहाँ ? देवघाटधाममा । कहिले ? कार्तिक १८ गते कार्तिक शुक्ल वैकुण्ठचतुर्दशी । किन ? सन्त महात्मा र गुरुकुलका बटुकसँगै देवघाटधामको परिक्रमा गर्न । कसरी ? हजारौँ भक्तजनसँगै पैदल हिँडेर । हिँडेर के हुन्छ ? परिक्रमाको पुण्य मिल्छ । शरीर स्वस्थ हुन्छ र सामाजिक समृद्धि बन्छ । कति हिँड्नुपर्छ ? करिब २५ किलोमिटर । ओहो धेरै रहेछ, कति घण्टा लाग्ला ? धेरै लाग्दैन । जम्मा ६ घण्टा । हिँड्न सकिन्छ त ? सजिलै सकिन्छ । भोक प्यास लाग्छ कि ? लाग्दैन जलपान, फलाहार र भोजनको दिव्य व्यवस्था छ । त्यसो भए म त जाने हो, तपाईँ पनि हिँडिहाल्नुहोला । अलौकिक आनन्द आउँछ, नआए भन्नुहोला ।’ सुवेदीको यो भनाईबाट नै थाहा हुन्छ गन्डकी परिक्रमा महोत्सवको महत्व कति छ भनेर ।

    गलेश्वर आश्रम देवघाटधामका पिठाधीश अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी तथा नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वतीले पनि देवघाटधाम गन्डकी परिक्रमा महोत्सवको ठुलो महत्व रहेको भन्दै सबैले उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नु पर्ने बताएका छन् ।

    देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने तथा मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । उनले महोत्सव सफल पार्न देवघाट गाउँपालिकाले आवश्यक सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

    उक्त गन्डकी परिक्रमा कार्यक्रममा फोहोर व्यवस्थापन तथा एम्बुलेन्सको व्यवस्था देवघाट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखाले गर्ने भएको छ भने तनहुँतर्फ सम्पुर्ण सुरक्षाको व्यवस्था इलाका प्रहरी कार्यालय देवघाटले गर्नेछ । भोजनको व्यवस्था भने हरिहर मन्दिर नारयणगढ र मौलाकाली मन्दिर गैंडाकोटले गर्ने भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend