काठमाण्डौ, १० चैत । आगामी स्थानीय तहको निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्नुपर्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा पार्टीभित्र नेता शेखर कोइराला समूहले असहमति जनाउने निष्कर्ष निकालेको छ ।

चुनावमा कहाँ तालमेल गर्ने वा नगर्ने भन्ने बारेमा केन्द्रबाट निर्देशन वा निर्णय गर्न नमिल्ने, त्यसरी जबरजस्ती गरे प्रतिरोध गर्ने निर्णय कोइराला समूहको हिजो काठमाडौँमा बसेको बैठकले गरेको छ । केही दिनअघि माओदी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा देउवाले तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताउनु भएको थियो । काँग्रेसको केन्द्रीय समितिको बैठक भोलिका लागि बोलाइएको छ ।
हिजो बसेको काँग्रेसको शेखर कोइराला समूहले सभापति देउवाले महाधिवेशनको ४० प्रतिशत मतको अस्तित्व स्वीकार गर्न नचाहेको, पार्टीका सबैजसो निर्णयमा आफूलाई मतदान नगर्ने नेता कार्यकर्तालाई किनारा लगाउने गरी निर्णय गर्न थालेको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।



