काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको बन्दै गरेको घोषणा पत्रमा संविधानमा उल्लेख भएको शिक्षा र स्वास्थ्य जस्तो विषय नि:शुल्क रूपमा जनताले पाउनु पर्ने ऐजेण्डाको रूपमा राख्नुपर्ने बताएका छन् ।

उनले केन्द्रीय समितिको बैठकमा नि:शुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार जनताको अधिकार कांग्रेसको सरकार भन्ने नारा अघि सारेका छन् ।
बैठकमा थप कुरा राख्दै महरले संसदीय बोर्ड न्याय संगत देखिनेगरी बन्नु पर्ने र आफ्ना मानिसको मात्र नाम खल्तीबाट बोक्ने प्रवृत्ति अन्त्य गर्ने खालको संसदीय बोर्ड बन्नु पर्ने तथा यो न्याय संगत देखिनुपर्ने धारणा राखेका हुन् ।
उनले पछिल्लो समय जनताको आकर्षण कांग्रेसप्रति बढेको समेत बताए । 'घर घर जाऔं कांग्रेस जिताऔं अभियानले साँच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेहरूको संख्या पनि बढ्दो छ,' उनले भने ।
कांग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनको धारणा छ । कम्युनिस्टहरू झुटको राजनीति गर्ने चरित्र उदांगो भएकाले पनि जनताको विश्वास कांग्रेसप्रति रहेको उनले बताए । जनताको त्यो विश्वासलाई आफूहरूले जीवन्त पार्नुपर्ने महरको धारणा छ ।



