मुलुकी देवानी संहिता ऐन र कार्यविधि संशोधन गरिँदै

images
  • 205
    SHARES
  • चैत्र १२, २०७८ शनिबार
    मुलुकी देवानी संहिता ऐन र कार्यविधि संशोधन गरिँदै
    images

    उषा तामाङ, काठमाडौँ, १२ चैत । मुलुकी देवानी संहिता ऐन र कार्यविधि संशोधन गर्न कानुन आयोगले छलफल अघि बढाएको छ । यसअन्तर्गत सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्तावमा भने समर्थनभन्दा धेरै विरोध भइरहेको छ ।

    1648270773-cRcNO.jpg

    मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९९ मा पतिको कारणबाटसम्बन्ध विच्छेद हुने अवस्थामा पतिपत्नीबीच अंशवण्डा गर्न लगाउनुपर्ने उल्लेख छ । तर त्यसअघि नै महिलाले अर्को विवाह गरे अंश नपाउने व्यवस्था छ ।

    अहिले ऐनको दफा १ सय ३ मा अंशवण्डापछि महिलाले अर्को विवाह गरे त्यसअघि श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने प्रावधान राख्न खोज्नु मानवता विरोधि प्रस्ताव भएको अधिवक्ता मीरा ढुङ्गानाले बताउनुभयो । अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेपूर्वपतिका छोराछोरी, नभए पूर्वपति वा पूर्वपतिका अंशियारलाई जायजेथा बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।

    महिला अधिकारकर्मी डा. जानुका न्यौपानेले प्रस्तावको समर्थन गर्दै महिलालाई सम्पत्तिको पहुँचमा पु¥याउनु सहि भएपनि कतिपय अवस्थामा हकको दुरुपयोग भएको बताउनुभयो । विवाहपछि महिलाले अंशवापतको सम्पत्ति फिर्ता बारेको यो विषय मुलुकी देवानी संहिता ऐन र कार्यविधि संशोधन गर्न मस्यौदा निर्माणका क्रममा आएका विचार तथा सुझाव मात्रै भएकाले कुनै निष्कर्षमा नपुगिएको कानुन आयोगका प्रवक्ता पाराश्वर ढुङ्गानाले बताउनुभयो ।

    सम्बन्धविच्छेद पछिको विवाह र अंश फिर्ता गर्नुपर्ने प्रस्तावले महिलाको स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै आलोचना भइरहेको छ । ऐन संशोधनको मस्यौदा कानून मन्त्रालय, मन्त्रिपरिषद् हुँदै संसदीय समिति नपुग्दै थप छलफल चलाउने तयारीमा कानुन आयोग छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend