चितवन, चैत २७ –
नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् । नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली आएको थियो ।
भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको कांग्रेस चितवनको बैठकले निर्णय गरेको थियो । हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी कांग्रेसी नेताहरूले दिँदै आएका छन् ।



