काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा

images
  • 84
    SHARES
  • भाद्र १७, २०७९ शुक्रबार
    काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा
    images

    भदौ, काठमाडौं ।

    नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

    saff-women-championship.jpg

    प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।

    बाँकी रकम एन्फाले आफ्नो श्रोतबाट जुटाउने साफ आयोजक समितिका संयोजकसमेत रहेका एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

    प्रतियोगिताको समूह एमा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, पाकिस्तान, वंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन् । बाँकी टिम आइतबारसम्म नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    प्रतियोगिताको पाँच संस्करणमा नेपालल चारपल्ट उपविजेता बनेको छ । नेपालले यसपल्ट उपाधि जित्ने लक्ष्य लिएको छ । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।

    टिकट मूल्य ३ सय र ५ सय

    प्रतियोगिता हेर्ने दर्शकले साधारण प्यारापिटतर्फ ३ सय र भीआईपी प्यारापिटतर्फ ५ सय रुपैयाँको टिकट लिनु पर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो टिकट मुल्य एन्फाको कार्यसमिति बैठकले यसअघि नै तय गरेको हो ।

    प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । रंगशालाको साधारणतर्फ ९ हजार र भीआईपीतर्फ ३ हजार सिट क्षमता छ ।

    एन्फाले टिकेटिङसहित ब्रोडकास्टिङ र मार्केटिङ अधिकार यसअघि नै भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई बेचिसकेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend