भरतपुर माओबादीलाई दिन देउवाले गरेको प्रस्ताब चितवन कांग्रेसद्वारा अस्वीकार

images
  • 197
    SHARES
  • बैशाख ६, २०७९ मंगलबार
    भरतपुर माओबादीलाई दिन देउवाले गरेको प्रस्ताब चितवन कांग्रेसद्वारा अस्वीकार
    images

    काठमाडौं,
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयर पद पुनः माओवादी केन्द्रलाई दिन लागिएको प्रष्ट पारेका छन । चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई मंगलवार बालुवाटारमा बोलाएर देउवाले सो कुरो प्रष्ट पारेका हुन । प्रधानमन्त्री समेत रहेका सभापति देउवाको प्रस्ताव चितवन कांग्रेसका राजेश्वर खनालले भने अस्वीकार गरिदिएका छन ।

    सो क्रममा देउवाले गठवन्धन जोगाउनका लागि माओवादीलाई भरतपुर महानगरको प्रमुख पद दिनुपर्ने अवस्था आएको भन्दै चितवन जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए । सभापति देउवाले आग्रह गरे पनि खनालले भनें कार्यकर्ताको भावना विपरीत आफू अघि बढ्न नसक्ने र निर्णय पनि सच्याउन नसक्ने जवाफ दिएका छन ।

    ‘पार्टी सभापतिले कांग्रेस चितवनको निर्णय सच्याउन आग्रह गर्नुभयो । भरतपुरको मेयर पद पुनः माओवादीलाई दिनुपर्ने भयो, सहयोग गर्नुस् भन्नुभयो । मैले कांग्रेस कार्यकर्ताको भावना अनुसार माओवादीलाई भरतपुरको मेयर दिन नसकिने जानकारी गराए’, खनालले भने ।

    खनालले केन्द्रीय समितिको निर्णय राजनीतिक हिसाबले मान्न कर लागे पनि चितवन र भरतपुरको परिस्थिति आफू एक्लैले धान्न नसक्ने जनाएका थिए । ‘पार्टी केन्द्रले निर्णय गर्दा जिल्लाको निर्णय स्वतः खारेज हुन्छ । केन्द्रबाट जेसुकै निर्णय होस तर जिल्लाका कांग्रेस कार्यकर्ताको भावना विपरीत म जान सक्ने अवस्था छैन ’, खनालले देउवालाई भनेका छन् ।

    खनालले माओवादी केन्द्रलाई भरतपुरको मेयर पुनः दिने तयारीमा पुनर्विचार गर्नसमेत देउवालाई सल्लाह दिएका छन् । जिल्ला सभापतिले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि सभापति देउवाले मंगलवार साँझसम्म गठबन्धनले निर्णय लिनै पर्ने अवस्था रहेको सुनाउँदै काठमाडौं , विराटनगर र भरतपुरमध्ये एउटा मेयर माओबादीलाई दिनै पर्ने बाध्यता सुनाएको बताइएको छ ।

    सभापति देउवाले साँझसम्म भरतपुरको मेयर पदको उमेदवार माओवादीबाट हुने निर्णय आउने प्रष्ट बताएका छन । सत्ताधारी ५ दलीय गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर माओवादीले लिने सहमति बनिसकेको छ । सभापति देउवाले मंगलवार नै कास्की र पर्साका प्रभावशाली नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend