पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते

images
  • 198
    SHARES
  • कार्तिक ५, २०७९ शनिबार
    पर्सामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते
    images

    ५ कात्तिक, वीरगञ्ज ।

    Accident.jpg पर्साको जिराभवानी गाउँपालिकामा अटोरिक्साको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् ।

    हात भाँचिएपछि उनको नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको छ । शुक्रबार राति दश बजेतिर इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट महादेवपट्टीले संयुक्त रुपमा सवारी साधन चेकजाँच गरिरहेका थिए ।

    हुलाकी राजमार्ग अन्र्तगत जिराभवानी गाउँपालिका–२ दुई लाटोमाई मन्दिर नजिक चेक प्वाइन्ट राखिएको थियो । सोही क्रममा सुवर्णपुरबाट आउँदै गरेका ना २ ह १४५४ नम्बरको अटोरिक्सालाई सशस्त्र प्रहरी निरीक्षक साखले रोक्न खोजेका थिए । तर अटो रोकिएन, उनैलाई ठक्कर दियो ।

    सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले अटो चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको बताए ।

    ‘सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीले राति चेक प्वाइन्ट थापेर सवारी साधन चेकजाँच गरिरहेका थिए’, उनले भने, ‘अटोलाई रोक्न खोज्दा सशस्त्र प्रहरी निरीक्षकलाई ठक्कर दिएछ । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हो ।’

    अटोसहित चालक जगरनाथपुर गाउँपालिका–१ बस्ने सीताराम रायलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend