लमजुङमा ठूला राजनीतिक दलले उम्मेदवार छान्न सकेका,उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने

images
  • 149
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    लमजुङमा ठूला राजनीतिक दलले उम्मेदवार छान्न सकेका,उम्मेदवारी दर्ता भोलिमात्रै  गर्ने
    images

    काठमाडौं

    स्थानीय तहको निर्वाचनका लागि लमजुङमा रहेका ठूला राजनीतिक दलले आफ्ना उम्मेदवार छान्न सकेका छैनन्। उम्मेदवार छनौटमा सकस परेपछि ठूला दलहरुले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

    tttt.jpg

    लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भए पनि साझा उम्मेदवार छान्न सकेका छैनन्। नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन। एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत छनौट भएका छन्। एमालेलाई उम्मेदवार छनौट गर्न सबैभन्दा सकस बेंसीसहर नगरपालिकामा परेको छ। बेंसीसहरमा वर्तमान मेयर गुमानसिंह अर्यालले दोहोर्‍याउन खोजेपछि उम्मेदवार छनौटमा सकस भएको हो।

    गठबन्धन दलहरु त पालिका भागबण्डामै अल्झिएका छन्। कुन दललाई कुन पालिकाको नेतृत्व दिने भन्नेमा गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन। ८ स्थानीय तह रहेको जिल्लामा २ स्थानीय तहको प्रमुखमा माओवादीले दाबी गरेको छ। काँग्रेसले एक पालिका प्रमुखमात्र दिन तयार भएकाले गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन।

    स्रोतकाअनुसार गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरि मोटामोटी सहमति भएको छ। बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत जमाजवादीलाई दिने एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको स्रोतले बताएको छ। पार्टीभित्र आन्तरिक विवाद हुने भएकाले उम्मेदवारीको समयमा मात्रै सार्वजनिक गर्ने तयारी गठबन्धन दलले गरेका छन्।

    जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रविच चुनावी एकता भएको थियो। सो समयमा  एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुखमा एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाएका थिए। जसमा एमालेले बेँसीसहर, सुन्दरबजार, राइनास नगरपालिका, क्होँलासोँथर र मर्स्याङ्दी गाउँपालिकाको प्रमुख, बेंसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी र क्होँलासोँथर गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो।

    गठबन्धन भए पनि माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो। मध्यनेपाल, राइनास र दुधपोखरीमा माओवादी उमेद्वार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेद्वार पराजित भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसले दुधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो। जिल्लामा कुल ७५ वडा रहेका छन्। वडामा मिश्रित परिणाम आएको थियो।

     

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend