१ मंसिर, काठमाडौं
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए ।
अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए ।
आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने आश्वासन दिए ।
सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’
उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै गर्ने जिकीरसमेत गरे । कुन चाहिं उम्मेदवारलाई जिताउँदाखेरि आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर आगामी मंसिर चार गतेको दिन मतदान गर्न आह्वान गर्दै उनले भने, ‘अस्थीरता र तपाईंहरुमा भय सिर्जना गर्न दुष्प्रयास गर्नेहरुलाई मेटाउनुस् ।’
भूमिहीन, सुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जबरजस्ती हटाउन पटक–पटक सूचना जारी गरिएको विरोधमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शनसमेत हुँदैछ ।



