१ मंसिर, दाङ
निर्वाचनको मुखमा दाङ आएका शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोलीलाई एमालेका कार्यकर्ताले बिहीबार राति घेराउ गरेका छन् ।
दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई चुनावमा सघाउन आएको आरोप लगाउँदै एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंह सहितको टोली बसेको होटलमा घेराउ गरेका हुन् । होटल घेराउ गरेपछि राति साढे १ बजे नै कडा सुरक्षाकाबीच मन्त्रालयका सचिवको टोलीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
चुनावको मुखमा मतदाता प्रभावित गर्नेगरी मन्त्री चौधरीको निर्वाचन क्षेत्रमा मन्त्रालयको कर्मचारी आएपछि घेराउ गरिएको एमालेका नेता जगत पोख्रेलले बताए । मतदाता प्रभावित पर्नेगरी आर्थिक चलखेल गरेर मन्त्री चौधरीलाई जिताउन मन्त्रालयको टोली दाङ आएको उनको आरोप छ ।
स्रोतका अनुसार बुधबार दाङ आएको मन्त्रालयको टोली बुधबार राति भालुवाङस्थित होलट पौवामा बसेको थियो । तर एमालेका कार्याकर्ताहरुले घेराउ गरेपछि मन्त्रीसँग भेट हुन सकेन ।



