काठमाडौँ
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा छ महिनाअघि भएको स्थानीय चुनावको भन्दा करिब ६ प्रतिशत कम मतदान भएको छ । निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदाता सहभागी भएका छन् । तर, छ महिनाअघि मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मत खसालेका थिए ।
यसआधारमा स्थानीय चुनावमा मत दिएका करिब ६ प्रतिशत मतदाताले यसपटकको चुनावमा भोट हालेनन् । जबकी स्थानीय चुनावमा योग्य ठहरिएका कुल मतदाताको सूचीमै यसपटक दुई लाख नयाँ मतदाता थपिएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो । यसपटक छ महिनाअघि भएको स्थानीय चुनावभन्दा करिब ६ प्रतिशत र पाँच वर्षअघि भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनभन्दा ७ प्रतिशत कम मतदान भएको छ ।
आयोगकाअनुसार यसपटक प्रतिनिधिसभाका १६५, प्रदेशसभाका ३३० र समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी कुल ८२५ सिटकालागि मतदान भएको थियो ।
यसपटक थपिएका मतदातामध्ये २३ लाख अर्थात् १३ प्रतिशत मतदाता पहिलो पटक मतदानकालागि योग्य बनेका थिए । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए ।
त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।
यसपटक प्रतिनिधिसभा सदस्यकालागि प्रत्यक्षतर्फ ६१ दलका एक हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उम्मेदवार छन् भने प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् । त्यस्तै, समानुपातिकतर्फ भने तीन हजार ७०८ जना उम्मेदवार छन् ।



