म्याग्दी
म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ ।
मालिका गाउँपालिका ५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन् ।
सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ ।
धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले पाँच हजार तीन सय ७० मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । यसै गरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार छ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याउनुभएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेशम जुग्जालीले ५ हजार १ सय ७४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार यामबहादुर गर्बुजाले चार हजार आठ सय ५१ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।
सोमबार बेलुकीदेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नम्बर वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



