चितवन, वैशाख १५
टिकट वितरण र गठबन्धन दलबीच वडा बाँडफाँटको विषयमा प्रभावकारी निर्णय गर्न नसकेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का सभापति किरणभूषण सिंह ओलीको पार्टीभित्रै चर्को आलोचना भएको छ । नेपाली कांग्रेस राप्ती–३वडा सभापतिदेखि सदस्य, क्षेत्रीय प्रतिनिधिहरुले सामूहिक राजीनामा दिएका हुन् ।
वडा समिति, नगर समिति, जिल्ला समितिबाट सोही वडा निवासी पार्टी प्रदेश समिति सदस्य रामेश्वरसिंह ओलीलाई नगरप्रमुख पदका लागि सिफारिस गरिएको थियो । तर, गठबन्धन दलबीच भागबन्डा गर्दा प्रमुख पद कांग्रेसले पाउन सकेन ।
प्रमुख पद नपाए पनि उपप्रमुख पाएको कांग्रेसले प्रमुखमा सिफारिस रामेश्वरसिंह ओलीको नाम उपप्रमुखमा सिफारिस गर्नुपर्नेमा त्यसमा क्षेत्रीय सभापतिको भूमिका गतिलो नभएको उनीहरुको आरोप छ । क्षेत्रीय सभापति किरणभूषण सिंह ओली रामेश्वरसिंह ओलीका दाजु पर्छन् ।
वडा सभापति दीपा पाठकसहित उपसभापति, सचिव, क्षेत्रीय प्रतिनिधिहरु, नगर सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएका हुन् । नेतृत्व असक्षम भएको भन्दै मंगलबार नेपाली कांग्रेस खैरहनी नगर समिति सचिव टीकादत्त इटनीले समेत राजीनामा दिएका थिए ।



