काठमाण्डौ
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनाव–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गर्नु भएको छ ।
आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरू बढ्न गएको, खेतीको सिजनका कारण पनि चुनावमा कम मत खसेको समेत भनाइ राख्नुभयो ।
‘एउटा धेरै मतदाता बाहिर छ, दोस्रो, खेतीको सिजन छ, तेस्रो, हिजो, अस्तिका राजनीतिक दलहरूको कामकाज, व्यवहारले बिरक्तिएर जान्न भन्नेहरू पनि भए होलान्’ उहाँले भन्नुभयो ‘कतिपयलाई गठबन्धन भयो, आफ्नो दलको उम्मेदवार छैनन्, मेरो एउटा चिन्हमा भोट हालिरहेको अर्को चिन्हमा दिन जान्न भन्ने पनि भयो होला, तर खास गरेर दलहरूले मतदाताहरूलाई मोटिभेटेड गर्न नसकेको कारण पनि कम मत खस्नु रहेको म भन्दछु ।’
पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा या चुनावले मुख्य चुनौतीको रूपमा औँल्याएको पनि बताउनुभयो ।
निर्वाचनमा परिपक्वता आए पनि पैसा र डिजिटल प्रविधिको दुरुपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरूले पनि आउँदो दिनमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौती र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताउनुभयो ।



